Sagun Khabar
मन्त्री सिंह दुर्घटनाबारे छानबीनका लागि समिति गठन, १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

कैलाली –बझाङमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री सवार गाडी दुर्घटना बिषयमा सत्यतथ्य पत्ता लगाउन छानबीन समिति गठन गरिएको छ । सुदूरपश्चिम सरकारले आज (बिहीबार) को मन्त्रीपरिषद बैठकबाट दुर्घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको हो । 

समितिले घटनाको सम्बन्धमा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रदेश सरकारमा प्रतिवेदन पेश गर्ने छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव (कानुन) गंगाबहादुर खरेलको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो ।

Atrya hospital

असार ५ गते सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहको गाडी दुर्घटनामा परी निधन भएको थियो । उनीसँगै उनकी पत्नी अमृता सिंह र मन्त्रीकी भाउजु जयादेवी सिंहको घटना स्थलमै मृत्यु भएको थियो । 

गाडीमा सवार मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार दिपक भण्डारी र गाडी चालक धर्मराज जोशी घाइते भएका छन् । उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको छ । 

सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा भएको दुर्घटनामा मन्त्री सिंहको निधन भएको हो । 

मन्त्री सिंह सवार गाडी सडकबाट अन्दाजी २५ मिटर तल कालंगा खोला किनारमा खसेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन । 
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update