काठमाण्डौ – ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर–८ गुरुङ बस्तीमा पहिरो जाँदा एकै घरका तीन जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन् ।
गए राति ११ बजे पहिरो गएको थियो । वडा नम्बर–८ का अध्यक्ष खड्गबहादुर बरालका अनुसार ज्यान गुमाउनेमा ३८ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिनाकी छोरी कविता गुरुङ रहेका छन् । छोरा १० वर्षका दिनेश पहिरोमा बेपत्ता रहेका र अहिले खोजी भइरहेको वडाध्यक्ष बरालले बताए ।
पहिरोले चार वटा घर पूर्णरूपमा र अरू केही घर आशिंक क्षति भएका छन् । क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ०९:४४
प्रतिक्रिया दिनुहोस्