काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । शनिवार आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन फेर्नु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको बताएका हुन् ।
उनले गठबन्धन ठिक ढङ्गले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताए । उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए । सरकार छोड्न परे पनि नडराइकन कांग्रेसले एक्लाएक्लै चुनाव लड्न सक्नुपर्ने थापाको भनाइ छ ।
उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने बताए । उनले संसदमा समानुपातिक निर्वाचन प्रणाली नराख्न आग्रह गरे । महामन्त्री थापाले समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली कांग्रेसलाई ल्याउनुपर्ने बताए ।