काठमाण्डौ – अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका–१ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा उनका तीन जना नातिनातिनाको मृत्यु भएको हो ।
पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार पहिरोमा परेर १० वर्षका धनबहादुर रास्कोटी, १२ वर्षका खुमबहादुर रास्कोटी र ११ वर्षकी मञ्जु रास्कोटीको मृत्यु भएको हो । ज्यान गुमाएका बालबालिका दाजुभाइका छोराछोरी भएका उनले बताए ।
पहिरोमा पुरिएका अर्का १४ वर्षका बालक सचिन रास्कोटी घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार सुतिरहेका बेला उनीहरु पहिरोमा परेका हुन् । घरका अन्य सदस्य भने उठेर गोठको काम गर्न थालेकाले जोगिएका न्यौपानेले बताए ।