Sagun Khabar
राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले नै बेहोर्ने

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।१२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ ।मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले जानकारी दिए ।

Atrya hospital

यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पौडेलका तर्फबाट कार्यालयले वक्तव्य जारी गर्दै आलोचना मत्थर गरेको थियो । अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णय भएको छ ।

काठमाडौंबाट दिल्लीमा एयर एम्बुलेन्समा राष्ट्रपतिलाई लैजाँदा सबैभन्दा धेरै ३३ लाख रुपैयाँ खर्च भएको जानकारी उनले दिए ।   दिल्लीको उपचारमा करिब ७ लाख रुपैयाँ र फर्कंदाको करिब ६ लाख खर्च भएको देखिएको जानकारी उनले दिए । ती सबै रकमको बिलसहित रकम निकासाका लागि अनुरोध गरिएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update