काठमाण्डाै – प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । शीर्ष नेताहरूको बैठकपछि गएकाे बुधवारदेखि भइरहेकाे प्रतिनिधिसभाको अवरोध आज आइतवारदेखि हट्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गएकाे बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलले सङ्घीय संसद्का दुवै सदनको बैठकमा अवरोध गर्दै आएका छन् । सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग संवाद गर्न आज बिहान सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले आग्रह गरेका थिए ।
सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो ।
यसअघि प्रधानमन्त्री प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसाे ३ बजेका लागि सार्नुभएको छ ।