Sagun Khabar
बैतडीमा दुई महिनापछि सार्वजनिक सवारी साधन सञ्चालन 

बैतडी–बैतडीमा दुईमहिना पछि सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । गत वैशाख २० गतेदेखि जारी भएको निषेधाज्ञा संगै सार्वजनिक सवारी साधन बन्द भएका थिए । बुधबारदेखि जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन् । 

स्थानीय प्रशासनले निषेधाज्ञामा थप खुकुलो पारेसंगै जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन भएका हुन् । सीट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने गरी जिल्लाभित्र सवारी साधन सञ्चालन गर्ने दिने निर्णय भए अनुसार यातायातका साधन सञ्चालनमा आएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने ‘हामीले सवारी साधनका चालक र सहचालकको एन्टीजेन परीक्षण गरेर मात्रै सञ्चालन गर्ने भनेका छौं । स्वास्थ्यका मापदण्ड अपनाएर सवारी साधन सञ्चालन गर्न पनि भनिसकेका छौं ।’

Atrya hospital

सार्वजनिक सवारी साधन सञ्चालन भएपछि व्यवसायीहरु पनि खुसी भएका छन् । लामो समयदेखि बन्द रहेका सवारी साधन सञ्चालनमा आएपछि व्यवसायीहरु खुसी भएका महाकाली यातायात सतबाँझ इन्चार्ज कर्णबहादुर पाण्डे (काजीले) बताए । तर आधा सीट क्षमतामा मात्रै यात्रु बोक्ने साविककै भाडादर कायम भएकाले समस्या भएको उनको भनाई छ । 

सार्वजनिक सवारी साधन सञ्चालनमा आएपछि कोरोनाको जोखिम बढेकाले सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । सवारी साधन सञ्चालनमा आएसंगै भीडभाड बढ्ने भएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘कोरोनाको संक्रमणदर मात्रै केही कम भएको हो । जोखिम कायमै रहेको छ । त्यसैले स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न आग्रह गर्दछु ।’
 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update