Sagun Khabar
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना : ६ जनाकै मृत्यु भएको पुष्टि 

काठमाण्डौ – सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै ज्यान गएको छ । हेलिकप्टरमा रहेका छ जना सबैको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए । पाँच जनाको शव र एक जनाको शरीरका टुक्रा भेटिएको उनले बताए । 

सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामोजुरा क्षेत्रमा दुर्घटनामा परेको हो । हेलिकप्टरमा एक जना पाइलट र पाँच जना यात्रु रहेका थिए । पाइलट नेपाली नागरिक हुन् भने यात्रु सबै मेक्सिकोका नागरिक रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । यात्रुमध्ये तीन जना महिला र दुई जना पुरुष थिए ।

Atrya hospital

दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट चेतबहादुर गुरुङसहित मेक्सिकन यात्रुहरू सिफुएन्टेस जी फर्नाडो, रिङ्कोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।

हेलिकप्टर रुखमा ठोकिएको देखिएको पनि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुबाट उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

खोजी तथा उद्धारका लागि नेपाली सेना, प्रहरी र काठमाण्डौबाट एल्टिट्युड एअरको हेलिकप्टर परिचालन गरिएको थियो । तर काठमाण्डौबाट गएका दुई वटा हेलिकप्टरले दुर्घटनास्थलमा अवतरण गर्न नसकेपछि २० मिनेटको पैदल दुरीमा अवतरण गरेका स्थानीयले बताएका छन् । स्थानीयले हेलिकप्टर खसेर आगो लागेको देखेपछि वडाध्यक्षलाई जानकारी गराएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update