Sagun Khabar
गौरा पर्वसम्बन्धी निर्णय सच्याउन माग

बैतडी –गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णयलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले सच्याउनुपर्ने माग गरिएको छ । समितिले स्वेच्छाले त्रुटिपूर्ण निर्णय पटक–पटक दोहर्याउँदै आएकाले सच्याउनुपर्नेमा जोड दिइएको छ । 

पञ्चांग निर्णायक समितिले गौरापर्व अर्थात दूर्वाष्टमी श्रावण शुक्ल पक्षको अष्टमी तिथीमा पर्ने उल्लेख गरेको छ । तर गौरा एकादशीको उपासना बिना गौरा नहुने भएकाले यो बर्षको गौरा भाद्र कृष्ण पक्षको अष्टमी तिथीमा मनाउनुपर्ने पण्डित ताराप्रसाद जोशीले बताए । 

Atrya hospital

१२ औं शताब्दीदेखि मानसखण्ड क्षेत्रमा शिवपार्वतीको पूजाअर्चना गर्दै गौरा पर्व मनाइँदै आएको र श्रावण शुक्ल पक्षको अष्टमीमै पर्छ भन्ने कुनै शास्त्रमा उल्लेख नभएको जोशीले बताए । 

पूर्णिमान्त चान्द्रमासको भाद्रशुक्ल अथवा कृष्णपक्षको अष्टमी तिथिलाई मात्र दूर्वाष्टमी मान्नुपर्ने शास्त्रमा उल्लेख गरिएको छ । त्यो पनि अगस्तिमुनिको पौराणिक उदय हुनुभन्दा पूर्वको अष्टमीलाई ग्रहण गर्नु पर्ने शास्त्रीय मान्यता छ । कन्याको सूर्यमा दूर्वाष्टमी मान्नु नहुने तर  उक्त निर्णयको ख्यालै नगरी नेपाल पञ्चाङ्ग निर्णायक समितिले गलत निर्णय गरेको जोशीको भनाइ छ । 

विसं २०३४, २०४२, २०४९, २०५३, २०६१ र २०८० को दूर्वाष्टमी र गौराष्टमी पर्वलाई श्रावण शुक्लपक्षको अष्टमी तिथिमा राखेको उनको आरोप छ । 

पञ्चांग निर्णायक समितिले गणितागत अगस्ती उदयको आधारमा दूर्वाष्टमीको निर्णय गरेर ठूलो भ्रम सिर्जना गरेको जोशीले बताए । 

श्रावण महिनामा अधिकमास परेका हरेक बर्ष भाद्र कृष्ण पक्षमा गौरापर्व मनाइँदै आएकाले यो बर्ष पनि भाद्र कृष्ण पक्षमै गौरापर्व मनाउनुपर्ने ज्योतिष कृष्णानन्द अवस्थीले बताए । गौराएकादशी अर्थात पुत्रदा एकादशीको ब्रत नभइकनै गौरापर्व नहुने भएकाले भाद्र कृष्ण पक्षको अष्टमीमै गौरापर्व मनाउनुपर्ने उनले बताए । शास्त्रीय मान्यता अनुसार यो बर्ष भाद्र कृष्ण पक्षमै गौरापर्व मनाउनुपर्ने ज्योतिष अवस्थीले बताए । 

धर्मशास्त्रीय विधान र ज्योतिषीय विज्ञान ग्रन्थसम्मत प्रमाणका आधारमा विश्लेषण गर्दा  विसं २०८० भाद्र २१ गते भाद्रपद कृष्णपक्षको अष्टमी तिथिको दिनमा दूर्वाष्टमी र गौराष्टमी पर्वका लागि सर्वोत्तम मानक र प्रामाणिक दिन भएकाले यसै तिथिमा गौरापर्व मनाउनुपर्ने ज्योतिष अवस्थीको  तर्क छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update