Sagun Khabar
बैतडीका सरकारी कार्यालयका सार्वजनिक सेवा सुचारु 

बैतडी –बैतडीका सरकारी कार्यालयहरुले आजदेखि सार्वजनिक सेवा दिन थालेका छन् । कोरोना भाईरसका कारण गएको दुई महिना यता बन्द रहेका सार्वजनिक सेवा आजदेखि सुचारु भएका हुन् । 

स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पारेसंगै सरकारी कार्यालयहरुबाट सबै प्रकारका सार्वजनिक सेवा सुचारु भएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

Atrya hospital

गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी भएपछि कार्यालयहरुले अतिआवश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका थिए । आजदेखि निषेधाज्ञा खुकुलो पारेकाले कार्यालयहरुले सेवा दिन थालेका हुन् । 

कोरोना भाईरसको जोखिम अझै पनि कम नभएकाले बार अनुसार स्थानीय तहका नागरिकलाई सेवा दिने काम शुरु भएको सूचना अधिकारी भारतीले बताए । 

आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन् भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकले सेवा पाउनेछन् । यस्तै मंगलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिनेछ । 

यसैगरी बुधबार पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने छ भने बिहीबार पाटन नगरपालिकाका नागरिकलाई सेवा प्रदान गरिनेछ । यसैगरी दशरथचन्द नगरपालिकाका नागरिकले शुक्रबार सेवा लिन पाउने प्रशासन कार्यालयले जनाएको छ । 

सेवा लिन आउँदा हरेक नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने सूचना अधिकारी भारतीले बताए । 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update