कैलाली –कैलालीको अत्तरीयामा सल्यानबाट ल्याइएको सिम्ला मिर्च तरकारीमा विषादी भेटिएपछि नष्ट गरिएको छ ।
अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परिक्षणमा एक क्विन्टल बढी सिम्लामा उपभोग गर्न नमिल्ने विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको हो । कार्यालयका बाली संरक्षण अधिकृत प्रमोद ठगुन्नाले सिम्लामा ६५ दशमलव ८५ प्रतिशत अर्गानोफस्फेट भेटिएकाले नष्ट गरिएको बताए । उनले तरकारीमा ४५ प्रतिशत भन्दा बढी विषादीको रोकावट दर भेटिएमा विसर्जन गरिने गरेको बताए ।
उक्त सिम्ला कृषि उपज थोक बजार समितिको हाताभित्र रहेको एमके एग्रीकल्चर ग्रुप प्रालिमा भेटिएको थियो ।
विषादी फेला परेको सिम्ला आज बिहान मात्रै ल्याइएको पसलका विक्रेता रमेश सुनारले बताए । यसअघि असार २४ गते बैतडीबाट विक्रिका लागि अत्तरिया पुर्याइएको ४ क्विन्टल टमाटरमा विषादी भेटिएपछि नष्ट गरिएको थियो ।