कैलाली –कैलालीको लम्कीचुहा नगरपालिकाले अतिक्रमित संरचनामाथि डोजर चलाउने कार्य शुरु गरेको छ । नगरपालिकाभित्रका अतिक्रमित खोला तथा नाली खाली गराउनका लागि डोजर चलाइएको हो ।
यसअघि पटक पटक सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले १ नम्वर वडा लम्की बजारको पायनियर्स विद्यालय नजिकको नालाबाट अतिक्रमित भएको ठाउँको रेखांकन कार्य सुरु गरेको थियो ।
आजदेखि रेखांकन गरिएका ठाउँमा डोजर चलाइएको छ । अतिक्रमित संरचना हटाउन पटक –पटक सूचना जारी गर्दा समेत अटेर गरिएकाले खोलानाला तथा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउने कार्य शुरु गरिएको नगर प्रमुख सुशीला शाहीले बताइन् ।
अवैध संरचना हटाउने कार्यमा सहयोग गर्न समेत नगर प्रमुख शाहीले सबै नगरबासीमा आग्रह गरेकी छन् । नगरपालिकाले अतिक्रमित संरचना हटाउने कार्य शुरु गरिसकेकाले यो कार्य अब नरोकिने उनले बताइन् ।
यसअघि लम्कीचुहा नगरपालिकाको भुमि व्यवस्थापन आयोग, लम्कीचुहाका अमिन र नापी कार्यालय टीकापुरको संयुक्त टोलीले जनप्रतिनिधि र स्थानीयको रहोबरमा रेखांकन गरिएको थियो । रेखांकन गरिएका संरचना आजदेखि हटाउन सुरु गरिएको हो ।