कैलाली- कैलालीमा माइतीबाट घर पुग्ने वित्तीकै एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालका–१७ धुर्जुना माइती भएकी २४ वर्षीया संजीता चौधरी भजनी नगरपालिका–५ लालबोझी स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् । मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन् ।
दुई बजे आफ्नो घर लालबोझी पुगेकी उनी सोहिदिन मृत अवस्थामा फेला परेकी हुन् । संजीताका श्रीमान २६ वर्षीय सुवेत यादब सोहिदिन ४÷५ महिनाका लागि कमाउन भारत जान्छु भन्दै घरबाट निस्केका थिए । संजीता घर पुग्ने वित्तिकै झुण्डिएर देहत्याग गरेको खबर तिकुनिया पुगेका यादबसम्म पुगेपछि फर्केर घर पुगेको बताइएको छ । तीन वर्षअघि संजीता र सुवेतबिच प्रेम विवाह भएको माइती पक्षले बताएको छ ।
संजीताको आत्महत्या नभई हत्या भएको हुन सक्ने माइती पक्षको अनुमान छ । झुण्डिएको व्यक्तिको भूइँमा खुट्टा कसरी पुग्छ र मृत्यु हुन्छ, मृतक संजीताका मामा हरिनारायण चौधरीले भने । संजीताको मोबाइल समेत उनका श्रीमान सुवेत यादबसँग भेटिएको उनले बताए । माइतबाट सकुसल घर पुगेकी संजीताको एकाएक झुण्डिएर देहत्याग गरेको विषय पत्यारलाग्दो नभएको उनी बताउँछन् ।
‘हाम्रो उपस्थिती बिना नै आजै एकाएक मृतकको टीकापुर अस्पतालमा पोष्टमार्टम समेत गरिएपछि आत्महत्या नभएर हत्या नै भएको विषयलाई थप पुष्टि गर्छ ।’ घटनाको सत्यतथ्य छानबिन नभएसम्म लास उठाने नदिने समेत उनले बताए। उनका अनुसार संजीताले घर पुग्ने वित्तिकै देहत्याग गरेको विषय सहि होइन, उनको हत्या गरिएको हो, घरभित्रै यस्तो घटना हुनु झन शंकास्पद भएको माइती पक्षको गुनासो छ । संजीताका श्रीमानले भने कमाउन भारत जान लागेको बेला घरमा यस्तो घटना भएपछि फर्केर आएको बताउने गरेको भन्दै माइती पक्षले घटनाको छानबिनको माग गरेको छ ।