Sagun Khabar
कैलालीमा आँखा पाक्ने रोगले विद्यालय बन्द हुन थाले

कैलाली– कैलालीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि विद्यालय बन्द हुन थालेका छन् । विद्यार्थीमा सङ्क्रमण बढ्न थालेकाले संक्रमण नफैलियोस् भनेर विद्यालयमा केही दिनका लागी बिदा दिन थालिएको हो । जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेका प्याब्सन र एनप्याब्सन आवद्ध विद्यालयहरुमा तीन दिन बिदा गरिएको छ ।

प्याब्सन र एनप्याब्सनको बुधवार बसेको संयुक्त बैठकले साउन १७ देखि १९ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । आँखा पाक्ने रोगबाट कतिपय विद्यार्थी, शिक्षक, शिक्षिका तथा अन्य कर्मचारी सङ्क्रमित भइ अवस्था असहज भएको जनाइएको छ ।

Atrya hospital

अन्य विद्यार्थी, शिक्षक, कर्मचारीमा तथा समुदायमा सङ्क्रमण फैलिनबाट रोक्नकालागि  विद्यालयहरु बन्द गर्ने निर्णय गरेको प्याब्सन लम्कीका सचिव भूपेन्द्र तिमिल्सेनाले बताए । भाइरल कन्जंक्टिभाइटिसको सङ्क्रमण भएमा आँखाबाट आँशु बग्ने, बिहान उठ्दा आँखाको ढकनी पुरै टाँसिने, आँखा खोल्न गाह्रो हुने, घाममा हेर्न वा बस्न गाह्रो हुने, आँखा पोल्ने, आँखा बिझाउने, आँखाको ढकनी सुन्निने, चिलाउने र जलन हुने जस्ता लक्षण देखा पर्दछन् ।

यो रोग लाग्नबाट बच्नका लागि दिनहुँ पटकपटक सफा पानीले आँखा धुने, फोहोर हातले आँखा नछुने, राम्रोसंग साबुन पानीले हात धुने, आँखा सम्बन्धी केही समस्या परेमा तुरुन्त डाक्टरसंग परामर्श लिएर सोही अनुरुप औषधिको प्रयोग गर्नु पर्ने चिकित्सकहरुले सर्वसाधरणमा आग्रह गरेकाछन् । 

आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि लम्की, धनगढी लगाएत अत्तरियाका केही विद्यालयले पनि बिदा दिएका छन् ।  कैलाली र कञ्चनपुरमा अहिले यो रोगको प्रकोप व्यापक छ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update