काठमाण्डौ – दोलखामा पहिरोमा परेर तीन वर्षका एक बालकको ज्यान गएको छ । यस्तै पहिरोमा परेर तीन जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।
गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गए राति पहिरो गएको हो । पहिरोको विस्तृत जानकारी आउन सकेको छैन । तर पहिरोले पाँच घर बगाएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए ।
उनका अनुसार पहिरोमा परेर ज्यान गुमाएका तीन वर्षका प्रिन्स थामीका आमाबुवाको नाम खुल्न बाँकी छ भने घाइते भएकाको पनि परिचय खुलेको छैन । दुई जना घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ पुर्याइएको छ । एक जनाको भने दोलखामा नै उपचार भइरहेको छ ।
यस्तै पहिरोमा परेर हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले बताए ।