Sagun Khabar
भारतको उत्तराखण्डमा बेपत्ता १६ नेपालीको खोजी कार्य जारी

बैतडी – भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजारमा बिहीबार राति खसेको पहिरोमा परेका नेपालीको खोजी भैरहेको नयाँदिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

केदारनाथधामको पैदलमार्ग सुरु हुने ठाउँमा खसेको पहिरोमा परेका नेपाली र भारतीयमध्ये तीन जनाको शव फेला परेको छ । मृतकमध्ये दुई नेपाली हुन् । नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर कामीको पहिचान भएको छ, अर्का एक नेपालीको अझै सनाखत भएको छैन ।

Atrya hospital

पहिरोमा १६ जना नेपाली बेपत्ता भएको अनुमान गरे पनि यकिन संख्या प्राप्त नभएको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ काम गर्ने नेपालीहरुका अनुसार जुम्ला, हुम्ला र कालिकोटका गरी १६ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बेपत्ता हुनेको यकिन संख्या र विवरण प्राप्त हुन बाँकी रहेको बताए ।

पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको सूचना पाउनेबित्तिकै खोज तथा उद्धारका लागि भारत सरकार र त्यहाँको स्थानीय निकायसँग निरन्तर पहल भइरहेको पनि उनले जानकारी दिए । त्यहाँको स्थानीय सञ्चार माध्यमका अनुसार बेपत्ता भएकालाई खोज्ने काम भैरहे पनि नदीमा पानीको सतह बढेको र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ भएको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update