बैतडी –यो बर्षको गौरा पर्व भदौ ७ कि २१ गते भन्ने बहस चलिरहेका बेला बैतडीको बरायल क्षेत्रमा भदौ ७ गते नै गौरा मनाउने निर्णय भएको छ ।
सुर्नया गाउँपालिका वडा नं ५ को क्षेत्रभित्र र रौलाकेदारको क्षेत्रभित्र भदौ ७ गते नै गौरा मनाउने निर्णय भएको सुर्नया गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष केशव बिष्टले बताए ।
रौलाकेदारको भण्डार घरमा बसेको स्थानीय जानकारहरुको भेलाले भदौ ७ गते नै गौरा मनाउने निर्णय गरेको रौलाकेदारका पूजारी विष्णुदत्त भट्टले बताए । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको तिथी नै गौरा मनाइने उनले बताए । भदौ २१ मा अगस्ती उदयको दोष हुने भएकाले भदौ ७ गते नै गौरा मनाउने निर्णय भएको पूजारी भट्टले बताए ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गतेका लागि गौराको तिथी तय गरेपछि त्यसमा अधिकांश ज्योतिषहरुले असन्तुष्टी जनाइरहेका छन् । भदौ ७ गते श्रावण शुक्ल पक्ष भएकाले गौरापर्व भदौ शुक्ल वा कृष्ण पक्षमा हुने उनीहरुको तर्क छ ।
तर अगस्ती उदयको दोष लाग्ने भएकाले गौराको तिथी भदौ ७ गते तय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य गणेशप्रसाद पन्तले बताए ।