काठमाण्डौं –कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विस्वासको मत पाएका छन् । सभाका अध्यक्षता गरिरहेका इसराइल मन्सुरीले समेत मत दिएपछि ४७ मत सहित उनले विश्वासको मत पाएका हुन् । विपक्षमा ३० मत प्राप्त भएको छ । ९३ जनाको प्रदेश सभामा आज ७७ जना उपस्थित थिए ।
थापालाई विश्वासको मत पाउनुबाट रोक्न विपक्षी गठबन्धन एमाले र राप्रपाले उपसभामुख सिर्जना दनुवार सहित नौ जना प्रदेश सभा सदस्यलाई अनुपस्थित गराएको थियो ।
एमाले र राप्रपाले उपसभामुख दनुवार अनुपस्थित हुँदा ज्येष्ठताको क्रम अनुसार सभाको अध्यक्षता गर्नुपर्ने आफ्ना आठ जना सांसदहरुलाई अनुपस्थित गराएको हो ।
उनीहरुले हिजै विभिन्न कारण देखाउँदै अनुुपस्थित हुने सूचना प्रदेश सभा सचिवालयलाई गराएका थिए ।
उपसभामुख दनुवार पनि आज बिरामी भएको भन्दै सभा सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिएर काठमाण्डौतर्फ लागेका हुन् ।
विपक्षी दलहरुले उपसभामुखसहित ठूलो संख्यामा सांसदहरुलाई अनुपस्थित गराएपछि सत्ता गठबन्धनले सभाको अध्यक्षता गरिरहेका व्यक्तिलाई नै मत दिन लगाएको हो ।
मतदानअघि बैठकमा सत्तापक्षका सांसदहरुले सरकार निर्माणको क्रममा सभाअध्यक्षले मत दिनु संविधान अनुसार नै भएको दाबी गरे ।
विपक्षी दलहरुले भने अध्यक्षता गरेको व्यक्तिले संविधान विपरीत मतदान नगर्न चेतावनी दिएका थिए । अध्यक्षता गरिरहनुभएका मन्सुरीले मतदान गर्ने बेलामा पनि विपक्षी दलहरुले विरोध गरेका छन् । उनीहरुले संविधान मिच्न पाइँदैन भन्दै नाराबाजीसमेत गरे ।