Sagun Khabar
सुदूरपश्चिममा गौरा पर्व : आज ‘नानी गौरा’ मनाइँदै 

बैतडी –सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा हिजोदेखि सुरु भएको छ । बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा हिजोदेखि गौरा शुरु भएको हो । तर केही ठाउँमा भने भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भएको छ । 

ज्योतिषहरुबीच मत बाझिएपछि यो बर्ष दुई गौरा भएका छन् । हिजोदेखि गौरा शुरु भएका ठाउँमा आज नानी गौरा मनाइँदैछ । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ ।आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ । सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ ।
बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रही आएको छ । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । 

Atrya hospital

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको बताइन्छ । 

दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो  । भोली सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोली नै महिलाहरुले धारणा गर्ने बिशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रही आएको छ ।

तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । 
गौराको समयमा सामूहिक रुपमा ठाडो खेल,ढुस्को, धमारी लगायतका सांस्कृतिक खेलहरु खेल्ने गरिएको छ ।

यो बर्ष अगस्ती उदयका कारण श्रावण शुक्ल पक्षमै गौरा मनाउनुपरेको ज्योतिष डिल्लीराज जोशीले बताए । अगस्ती उदयभएपछि गौराको पूजन गर्न नहुने शास्त्रीय मान्यता रहेको उनको दाबी छ । 

तर गौरा पर्व भाद्र शुक्ल वा भाद्र कृष्ण पक्षमा मात्रै मनाइने परम्परा रहेकाले यो बर्षको गौरा भदौ १८ गतेदेखि नै शुरु हुने ज्योतिष लक्ष्मीदत्त अवस्थीले बताए । गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने चलन नरहेको उनले बताए । सुदूरपश्चिम क्षेत्रमा भदौ २३ गतेपछि मात्रै अगस्ती उदय हुने भएकाले भदौ २१ गतेको गौरामा अगस्ती उदयको दोष नलाग्ने उनले दाबी गरे । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update