Sagun Khabar
गौराघरमा  आज गौरा भित्र्याइँदै 

बैतडी –सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात ‘ठूली गौरा’भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् । गौरा मनाइरहेका ठाउँमा आज गौरा भित्र्याइने ब्रतालुहरुले बताएका छन् ।

यो बर्ष तिथीका बिषयमा ज्योतिषहरुबीच विवाद भएपछि दुई गौरा भएका छन् । कुनै ठाउँमा भदौ ४ गतेदेखि गौरा शुरु भइसकेको छ भने कुनै ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ । 

Atrya hospital

ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको छ । ब्रतालु महिलाहरुले फागमार्फत बिरुडाले गौरादेवीको पूजाआजा गर्ने गरेका छन् ।  

‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । साँउ, अपामार्ग, तील लगायतका वनस्पतिले गौराको प्रतिमूर्ती बनाइ पूजाआजा गर्ने चलन रही आएको छ । 

तागाधारी पुरुषहरुले जनेउ धारण गरे जस्तै महिलाहरुले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रही आएको छ । 

यसका साथै साँझको समयमा ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आजको गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् । 

गौरापर्वको मुख्य दिनको रुपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ । 

गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update