कैलाली –कैलालीका केरामा नयाँ प्रजातिको ट्रोपिकल रेस ४ (टीआरफोर) रोग फेला परेको छ । कैलालीको टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक फेला परेको पुष्टि गरेको छ ।
कृषि वैज्ञानिकले २०८० साउन १० गतेदेखि कैलालीका नौ जना किसानका केरा बगैँचामा पुगेर आठ हजार केराका बोटको अवलोकन गरेका थिए । रोगसँग मिल्दो लक्षण देखिएको नमुनालाई प्रयोगशालामा कल्चर गर्दा जीवाणु देखिएको र पछि पीसीआर गर्दा चार वटा बगैँचाबाट लिइएका नमुनामा पोजेटिभ देखिएको थियो ।
टीकापुर नगरपालिकाका वडा २, ५ र ७ मा किसानहरुले लगाएको केरामा यो रोग देखिएको हो ।
भारतमा पाँच बर्ष अघि नै देखा परेको यो रोग नेपालमा भने पहिलो पटक टीकापुरमा देखिएको कृषि वैज्ञानिकहरुले बताएका छन् ।