झापा –सवारी जाँचमा खटिएका प्रहरीमाथि बञ्चरो प्रहार भएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई बिहीबार साँझ ७ बजे एक युवकले बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् ।
झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए । तीन जना युवक सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवकले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको बताइएको छ । घाइते प्रहरी निरीक्षक कटुवालको बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आक्रमणमा संलग्नसहित तीनै युवकलाई नियन्त्रणमा लिएको छ ।
बञ्चरो प्रहार गर्नेसहित मोटरसाइकलमा सवार तिनै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीको भनाइ छ ।