बझाङ–बझाङमा गत मंगलबार राति सुतिरहेका आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । कैलालीको कैलारी गाउँपालिका वडा नं १ का स्यानु चौधरीलाई प्रहरीले कैलालीबाटै पक्राउ गरेको हो ।
पक्राउ गरिएका चौधरीलाई जिल्ला प्रहरी कार्यालय बझाङले आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ ।
गएको मंगलबार राति चौधरीले छुरा प्रहार गर्दा चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका थिए ।
सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका चौधरीले अपराधमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । लुटपाट गर्ने उद्देश्यले चौधरीले विक परिवारमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरीमाथि डाँका चोरी तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत बझाङबाट सातदिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।