कैलाली –जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्युु भएको छ ।
धनगढी उपमहानगरपालिका ३ की अन्दाजी ३२ बर्षीया मञ्जु कुँवरको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।
धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् । विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले बताए । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरीले खेतमा विद्युतीय धराप राखेका जंगलिया चौधरीलाई पक्राउ गरेको छ । चौधरीले जंगली जनावरबाट धानबाली जोगाउन करेन्ट छाडेको बयान दिएको प्रहरीले जनाएको छ ।