कैलाली – जिल्ला प्रशासन कार्यालय कैलालीले अनुमति नलिएका दुई अस्पताल बन्द गर्न निर्देशन दिएको छ । मंगलबार अनुगमनका क्रममा धनगढी उपमहानगरपालिका–३ सहिद गेटमा सञ्चालित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र धनगढी उपमहानगरपालिका–५ राष्ट्र बैंक चोकमा सञ्चालित सञ्जीवनी अस्पताल प्रालि अनुमति बिनै सञ्चालनमा रहेका पाइएको थियो ।
दुवै अस्पतालले कुनै पनि सरकारी निकायबाट सञ्चालन अनुमति नलिएको सहायक प्रजिअ यज्ञराज जोशीले बताए । स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा दुई साताअघि एक बिरामीको पत्थरीको अप्रेसनका क्रममा मिर्गौला नै झिकेपछि मृत्यु भएको थियो ।
१५ शैय्याको अस्पताल सञ्चालनका लागि स्थानीय तह, २५ देखि एक सय शैय्या संख्याको अस्पताल सञ्चालन गर्न प्रदेश स्वास्थ्य निर्देशनालय, एक सयदेखि दुई सय शैय्या सञ्चालनका लागि सामाजिक विकास मन्त्रालय र दुई सयभन्दा माथिको अस्पताल सञ्चालन गर्नुपरे संघबाट अनुमति लिनुपर्ने प्रावधान छ ।
दुवै अस्पतालले कुनै पनि सरकारी निकायबाट अनुमति नलिएकाले अनुमति नलिँदा सम्म बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।